२३ कात्तिक, काठमाडौं । नेपालका ईश्वर मान बज्राचार्यले काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जित्न सफल भएका छन । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको दोस्रो तथा अन्तिम दिन पुरुष ५० वर्षमाथीको स्पर्धामा ईश्वरले स्वर्ण जितेका हुन्। ५९ बर्षिय बज्राचार्य नेपाल तेक्वान्दो संघका सातौ डान प्राप्त बरिष्ठ प्रशिक्षक तथा पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत हुन । पाटन माध्यमिक विद्यालयका प्रधान अध्यापक समेत रहेका बज्राचार्यले यस अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उत्पादन गरेर देशको निम्ती योगदान गरेका छन। सोही स्पर्धामा नेपालकै बिजय शाहले रजत पदक प्राप्त गरे ।
त्यसैगरी पुरुष तर्फको ४० वर्षमुनिको उमेर समुहमा प्रतिस्पर्धा गरेका नेपालका कमल श्रेष्ठले नाइजेरियाका आकांडे साम्युएललाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भए । कमल गतबर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता समेत हुन् । सोही स्पर्धामा नेपालका राम कुमार पोख्रेल र भारतका मल्लवाराछिगे सम्पठले कांस्य पदक हात पारे ।
आइतबार भएको पुरुष तर्फको ५० वर्षमुनिको समूहमा मेक्सिकोका खेलाडी जुआन पेड्रो भेलास्कोले पहिलो स्थान हात पारे।उनले नेपालका लक्ष्मण बहदुर ऐर्लाई पछि पारे। यस स्पर्धामा भारतका प्रमीत कुमार र नेपालका राजु नगरकोटिले कांस्य पदक हात पारे ।
त्यसैगरी पुरुष २१ वर्षमुनिको समुहमा प्रतिस्पर्धा गरेका मलेसियाका सिइ चोङ सूनले नेपालका लक्ष्मण श्रेष्ठलाइ पछि पार्दै स्वर्ण जितेका हुन्। सोही समुहमा नेपालकै सुजन चौधरी र कृष्ण बहादुरले कांस्यमा चित्त बुझाए।
यसैगरी महिला २९ वर्षमुनिको समुहमा प्रतिस्पर्धा गरेकी मलेसियाकी मेरिलिन लिअनले नेपालकी पार्वती गुरुङलाई पछि पार्दै स्वर्ण पदक हात पारिन । सोही समुहमा नेपालकी निर्मला बि क र मकाउकी कावा मकले कांस्य पदकमा चित्त बुझाए।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना भएको हो। च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा भएको थियो। हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको प्रतियोगितामा महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको थियो ।