२० जेठ (Sports for Nepal) — कराते खेलाडी एरिका गुरूङ विश्व करातेको सबैभन्दा कठिन मध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई ऐतिहासिक पहिलो पदक दिलाएकी हुन् । विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेकी हुन् ।

उनी कराते प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्।
यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।

