२ मंसिर, काठमाडौं । कराते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण जितेका छन् ।
क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराते प्रतियोगिता सातो कप इन्टरनेसनल २०२० को डिभिजन ‘जी’को ४० वर्षमाथिको पुरुष मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् ।
मानन्धरले १५ दिनअघि मात्र कराते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाइन कराते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।
नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तर्गत ब्लुदेखि ब्राउन बेल्ट समूहमा नीता आचार्यले स्वर्ण जितिन् ।
आचार्यले यूबीसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिइन् । यसअघि नीताले केरला कराते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।
नेपालका लागि अर्को दुई स्वर्ण सन्जु देशार र मनीष कार्कीले जोडे । सन्जुले डिभिजन २७ अन्तर्गत महिला १४-१५ बर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
मनीष कार्कीले डिभिजन ३० को पुरुष १४-१५ वर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काइका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ब्लाकबेल्ट इलाइटमा स्वर्णिम मानन्धरले कास्य, डिभिजन डी पुरुष १६-१७ वर्ष ब्ल्याकबेल्ट इलाइटमा प्रनिल मानन्धरले कास्य प्राप्त गरे ।
विजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए ।
प्रतियोगितमा क्यानडालगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको थियो ।