काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिक छनोटका लागि नेपाली कराते खेलाडीको प्रशिक्षण पुनः सुरु भएको छ । कोरोना महामारीका कारण केही साताअघि सुरु र स्थगित हुँदै आएको कराते खेलाडीको प्रशिक्षण आज (आइतबार) बाट पुनः सुरु भएको हो ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेजा नवीन रसाइली र अनु अधिकारीलाई टोकियो ओलम्पिक छनोटको तयारी स्वरुप सातदोबाटो स्थित कराते प्रशिक्षण केन्द्रमा प्रशिक्षण सुरु गरिएको हो । ओलम्पिक छनोटको तयारीमा रहेका दुई खेलाडी र थप दुई खेलाडी गरी चार जनालाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण सुरु गरेका हुन् ।
कोरोना संक्रमणको संख्या बढ्दो भएकाले धेरै खेलाडीलाई सहभागिता गराउन नसकिएको प्रशिक्षक श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । उनले छनोटको तयारीमा रहेका खेलाडीको सहजताका लागि थप दुई खेलाडीलाई प्रशिक्षणमा सहभागिता गराएको बताए । सहभागी हुने खेलाडीमा राष्ट्रिय च्याम्पियन विपिनराज सिंह र स्वीकार राई छन् ।
विपिनराजले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । तर, उनी सागको छनोटमा पराजित हुँदा घरेलु भूमिमा आयोजना भएको १३औं साग खेल्नबाट वञ्चित भएका थिए । त्यस्तै स्वीकारले भने आठौंमा रजत पदक जितेका थिए । दुवै फाइट विधाका खेलाडी हुन् ।
“अहिले हामीले कोरोना परीक्षण गराएका छैनौं । परीक्षण नगराएका कारण अन्य खेलाडीलाई प्रशिक्षणमा सहभागिता गराउन सकिरहेका छैनौं । परीक्षण गराए पनि उनीहरुलाई क्वारेन्टिनमा राखेर प्रशिक्षण गर्न सक्ने अवस्था पनि हामीसँग छैन,” प्रशिक्षक श्रेष्ठले भने, “क्वारेन्टिनमै राख्न सक्ने अवस्था भए कोरोना परिक्षण गर्न आवश्यक थियो । अहिले पनि नभएको भने होइन । तर, हामीले सुरक्षा अपनाएर प्रशिक्षण गरिरहेका छौं । यस्तो अवस्थामा सुरक्षा अपनाएर अगाडि बढ्नुपर्छ । हामी त्यही गरिरहेका छौं ।”
आजबाट सुरु भएको प्रशिक्षण तिहारसम्मका लागि साताको चार दिन (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) मात्र हुनेछ । तिहारपछि भने यसलाई यसलाई नियमित अगाडि बढाइने प्रशिक्षक श्रेष्ठले जानकारी दिए । छनोटको तयारीमा रहेका खेलाडी अहिले काठमाडौंमै भएका कारण ओलम्पिक छनोटको प्रशिक्षण सुरु गर्न सहज भएको उनले बताए ।
“अहिले हामी फिटनेसमा बढी केन्द्रित छौं । दसैँ-तिहारको समय पनि भएकाले खेलाडीमा फ्याट बढ्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि हामीले यसबीचमा प्रशिक्षण सुरु गरेका हौं । तिहारपछि मात्रै हामीले टेक्निकल्ली रुपमा अगाडि बढेर नियमित प्रशिक्षण गर्नेछौं,” उनले भने, “पछिल्लो समय ओलम्पिकको तयारीमा रहेका अन्य देशका खेलाडीहरुले मास्क लगाएर पनि करातेका प्रतियोगिता खेलेका छन् । हामीले त प्रशिक्षण पनि राम्रोसँग सुरु गर्न सकिरहेका छैनौं । अहिले फिटनेसलाई मात्र ध्यान दिएर प्रशिक्षण सुरु गरे भोलि उनीहरुले ओलम्पिक छनोटका लागि आफूलाई राम्रो तयारीमा राख्न सक्ने अवस्था हुन्छ ।” बाह्रखरी

