८ मंसिर , काठमाडौं । निवासगोपाल वैद्य ६३ वर्ष भएका छन् । उनी दैनिक ४ घन्टा व्यायाम गर्छन्, ३ घन्टामात्र सुत्छन् । जोस-जाँगर भने १७-१८ वर्षे ठिटोभन्दा कम छैन।
पाटनका स्थायी बासिन्दा उनी नेपाल सोतोकान कराते संघका उपाध्यक्ष र यो खेलका प्रमुख प्रशिक्षक हुन्। उनी आफूलाई प्रशिक्षकभन्दा बढी करातेका सामान्य खेलाडी ठान्छन्।
उमेर ढल्किँदै जाँदा पनि कराते अभ्यास गरिरहेकाले उनको 'स्टामिना' कम भएको छैन। आफू बिरामी भएर अस्पताल जानु नपरेको २० वर्ष भएको उनी बताउँछन्। सामान्य रूघाखोकी र टाउको दुखेको कस्तो हुन्छ भन्नेसमेत उनले बिर्सिसके रे।
'सिजन परिवर्तन हुँदा सामान्य रूघाखोकी लाग्नु स्वाभाविक मानिन्छ। तर २० वर्ष भयो, मलाई केहीले छोएको छैन, 'वैद्यले जोसिलो आवाजमै भने, 'कोही कोही त तिमीलाई कहिल्यै केही हुँदैन कि क्या हो पनि भन्छन्।'
उमेरले छ दशक नाघ्दा पनि राष्ट्रिय खेलाडीझैं अभ्यास गरिरहने वैद्यले कराते सिक्न थालेकै ४० वर्ष पुगिसकेको छ।
उनी दुवै हात भुइँबाट छाडेर जम्पिङ पुस-अप गर्न सक्छन्। दिनमा निरन्तर ४ घन्टासम्म व्यायाम गर्नु उनका लागि सामान्य भइसकेको छ।
उनमा कराते सिक्ने हुटहुटी नै चढ्यो। कालिकास्थानमा कराते सिकाउने ठाउँ पुगेर दुई हप्ता सिके। निरन्तरता दिन भने सकेनन्।
वैद्यका अनुसार त्यतिबेला सोतोकान कराते सिक्न सरकारले प्रतिबन्ध लगाएको थियो। त्यसैले उनीसहित ४० जनाको समूह भूमिगत रूपमा कराते सिक्थ्यो। अझ प्रहरीले थाहा पाउने डरले प्रशिक्षण स्थल फेरिरहन्थ्यो।
'त्यतिबेला पुलिसहरू आफ्नो कार्यालय हाताभित्र कराते सिक्थे। तर बाहिर झगडा पर्ला, सरकारलाई अप्ठ्यारो पर्ला भनेर होला कराते सिक्न प्रतिबन्ध थियो,' वैद्यले भने, 'हामीले डराइडराइ कराते सिक्नुपर्ने अवस्था थियो।'
कराते खेलेरै जीवन गुजारा गर्न झनै मुस्किल थियो। त्यसैले उनी परिवारलाई औषधि बनाउने काममा सघाउँथे। आफ्ना बुबा दरबारका वैद्य भएकाले औषधि बनाउनु आफूहरूको पुर्ख्यौली पेसा भएको उनी बताउँछन्।
कराते खेल्न थालेको २३ वर्षपछि भने उनको मिहिनेतले रङ देखायो। २०५१ सालमा उनले सोतोकान कराते संघलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गराए। दर्ता गराएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन बाटो खुल्यो ।
यो बेलासम्म उनको उमेर ४० कटिसकेको थियो। रोजीखुसी प्रतियोगितामा भाग लिन पाएनन्। तर सानैदेखि आफूलाई करातेमै समाहित गरेका वैद्य के हार मान्थे! उनले 'भेट्रान'तर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए।
'प्रतिस्पर्धा गर्नुअघि भरत साथीकहाँ जान्छु भनेर हिँड्यो। मैले नखेली नजाऊ भनेँ। तर प्रतिस्पर्धा गर्न आउँछु भनेर हिँडेको ऊ गायबै भयो,' वैद्य सम्झिन्छन्। भरत गायब हुनसक्ने शंका भने आफूलाई भएको उनी बताउँछन्।
उनको कराते करिअरमा यस्ता उतारचढाव आइरहे। तर आफ्नो शरीरमा भने कहिल्यै परिवर्तन आउन दिएनन् उनले। अचेल पनि विशेष काम परेको अवस्थाबाहेक दिनहुँ कराते अभ्यास गर्छन्। कहिले बिहान बेलुकै गर्छन्।
उनी करातेलाई खेल मात्र मान्दैनन्, योगका रूपमा लिन्छन्।उमेर बढ्दै जाँदा र बाहिरी वातावरण अनुकूल नहुँदा बाहिर हिँड्नुभन्दा घरमै व्यायाम गर्नु राम्रो हुने उनको सल्लाह छ।'कराते धेरै हिसाबले खेल्न सकिन्छ। एउटा काताबाट कला देखाउने, फाइटमा प्रतिस्पर्धा गर्ने अनि अर्को योग हिसाबले गर्ने,' उनी भन्छन्, 'मैले कराते योगका रूपमा पनि गर्छु।'

