२१ जेठ (Sports for Nepal) — नेपाली कराते खेलाडी एरिका गुरुङको विश्व वरियतामा सुधार भएको छ । विश्व कराते महासंघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार एरिका महिला कुमुते ६८ केजीमाथिमा २३ स्थान सुधार गर्न सफल भएकी छिन् ।
यसअघि ५० औं स्थानमा रहेकी एरिक २३ स्थान सुधार भएसँगै २७ औं स्थानमा उक्लिएकी छिन्। एरिकाले गत आइतकार मात्र विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिने कराते-१ प्रिमियर लिगमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।

कराते-१ प्रिमियर लिग अन्तर्गत मोरोक्कोको राबतमा आइतबार राती भएको महिला ६८ केजीमाथि तौल समूहको कास्य पदक भिडन्तमा फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराउँदै एरिकाले ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।
एरिका कराते-१ प्रिमियर लिगको पहिलो सहभागीतमै पदक जित्न सफल भएकी हुन् । यस्तै उनी विश्व करातेको सबैभन्दा प्रतिष्ठित मानिने यस प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । लिगको सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलेपनि एरिका सेन्सुका आधारमा पराजित हुन पुगेकी थिइन् ।

सेमिफाइनल अघि उनले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई हराएकी थिइन् । विश्व कराते महसंघको आयोजनामा सन् २०११ देखि शुरु भएको यस प्रतियोगिताको हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडी मात्र सहभागी हुन पाउने प्रावधान रहेको छ ।
ऐतिहासिक पदक बिजेता एरिकाको त्रिभुवन विमानस्थलमा भब्य स्वागत

