पारा तेक्वान्दो प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड


५ जेठ (Sports for Nepal) — बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ।

बाग्मती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको कास्य पदक हो। सो कास्य पदकको पर्दा पछाडिका एकल नायक प्रशिक्षक मकवानपुरका कविराज नेगी हुन्।

पारा तेक्वान्दो आज जहाँसम्म आइपुगेको छ। त्यसको सम्पूर्ण श्रेय नेगीलाई जान्छ। उनले निःस्वार्थ भावनाले कुनै सेवा सुविधा बिना नै सन् २००५ देखि पारा तेक्वान्दो प्रशिक्षणमा आफूलाई समर्पित गरेका छन्। कुनै संकोच वा सम्झौता नगरी एक्लै र एकोहोरो नै भएर उनी पारा तेक्वान्दो खेलाडीहरूको सारथी बने।

२०१६ मा पलेशा गोभर्धन राष्ट्रिय टिममा परेपछि नेपाली पारा तेक्वान्दोको यात्रा नयाँ उचाइतर्फ उन्मुख भयो। त्यसयता सफलताको श्रृंखला सुरु भयो। नेगीकै प्रशिक्षणमा ह्वाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन्।

त्यसैगरी पेरिस पारालिम्पिक्समा समेत कास्य जितेर नेपाललाई विश्वमञ्चमा चिनाउन सफल भए। नेगीको प्रशिक्षणमा पारा तेक्वान्दोले नेपाललाई ३ स्वर्ण, ६ कास्य र २ रजत गरी ११ पदक जितिसकेको छ।

पारा तेक्वान्दोमा समर्पित प्रशिक्षक नेगी उत्कृष्ट प्रशिक्षकका हकदार पनि हुन्। अवार्डमा यो पटक कुल १२ विधामा खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको थियो।