४ मंसिर, काठमाडौं — नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्मान गरेको हो ।
शाहिको कप्तानिमा ढाकामा सम्पन्न प्रथम इभीसी एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितमा स्वर्ण पदक र २०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म १३ औँ भएको सागमा नेपाललाई एतिहासिक रजत जिताउन सफल भएको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।
सम्मान स्वरुप कप्तान शाहीले नगद ५० हजार प्राप्त गरेकी छन् । यो सम्मानको भागेदार आफू एक मात्रै नभइ सम्पूर्ण भलिबल टोली भएको कम्तान शाहीले बताइन् ।
यस्ता सम्मानले नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई अघि बढाउन हौसला मिलेको बताइन् । राष्ट्रिय भलिबल टोलीका लागि अझै मेहनत गर्ने उनले प्रतिबद्धतासमेत गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्रतिष्ठानले भलिबल खेल र खेलाडीको हितका लागि प्रशंसनीय कार्य गर्दै आएको बताउदै निजी क्षेत्रबाट पनि खेलको विकासमा सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए ।
अध्यक्ष खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले कार्य गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रतिष्ठानले खेलकुद क्षेत्रमा भलिबल खेलाडी सम्मानका साथै महिला भलिबल प्रतियोगिता आयोजना र भलिबल खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै प्रतिष्ठानले महिला राष्ट्रिय भलिबल टोली र न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई खेल पोशाक पनि प्रदान गरेको थियो । सामाजिक र खेलकुद क्षेत्रमा गरेको कार्यको मूल्यांकन गर्दै नेपाल सरकारले प्रतिष्ठानलाई विभूषित गर्ने निर्णय गरेको छ ।