सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ ।
आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो ।
प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ ।
मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले यस पटक प्रतियोगितालाई विगतको भन्दा भव्य रुपमा आयोजना गर्ने तयारी भइरहेको बताइन् ।
उनले यस संस्करणमा पुरस्कार राशीसमेत बढाउने तयारीमा रहेको जानकारी दिइन् । छैटौं संस्करणको विजेताले नगद २ लाख प्राप्त गरेको थियो । यस पटकको विजेताले पाउने रकम केही दिनमा घोषणा हुने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगिता नेपालगञ्जको चिनारीको रुपमा आयोजना हुँदै आएको बताइन् । यस्तै संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए
बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।
पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति थियो ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैटौं पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपालि पनि भारत र बंगलादेशका क्लबलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
news source: Online khabar