इ स्पोर्ट्स टिम डीआरएस गेमिङ साउदी प्रस्थान


काठमाडौं, २३  असार (Sports for Nepal) — नेपालको इ स्पोर्ट्स टिम डीआरएस गेमिङ पब्जि मोबाईलको प्रतिष्ठित प्रतियोगिता पीएमडब्लुआई खेल्न साउदी अरेबिया तर्फ प्रस्थान गरेको छ। भोटिङबाट प्रतियोगितामा छनोट भएको डीआरएस गेमिङ शनिबार साउदीतर्फ प्रस्थान गरेको हो। 

यस प्रतियोगिताको पहिलो राउण्डमा १८ वटा टिमसँग प्रतिस्पर्धा गर्नेछ। जसको पुरस्कार राशी १ मिलियन डलर रहेको छ। 

यस प्रतियोगितामा सहभागीताको मात्र टिमले १५ हजार डलर प्राप्त गर्नेछ। यसमा अल स्टार राउण्डको शीर्ष ६ भित्र पर्ने टिमले मुख्य स्पर्धा खेल्न पाउनेछ। मुख्य स्पर्धाका लागि १० टिमको छनोट भैसकेको छ। अल स्टारका शीर्ष ६ टिम गरि १६ टिमले अन्तिम स्पर्धामा भाग लिनेछन्। 

मुख्य स्पर्धाको पुरस्कार राशी भने २ मिलियन डलर रहेको छ । अन्तिम स्पर्धामा छनोट भएका टिमले कम्तीमा २५ हजार डलर प्राप्त गर्नेछन्। 

नेपाली टिम डीआरएसले सुरुमा अल स्टार राउण्ड खेल्नेछ । सो राउण्ड जुलाई ११ देखि १३ सम्म चल्नेछ । यस राउण्डको शीर्ष ६ भित्र परेको खण्डमा डीआरएस अन्तिम चरणमा छनोट हुनेछ । अन्तिम चरण जुलाई १४ देखि १७ सम्म चल्नेछ।