तेक्वान्दोको वरिष्ठ प्रशिक्षक संगिनालाई ‘बागमतीको शान’ अवार्ड


५ जेठ (Sports for Nepal) — बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बाग्मतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्।

बाग्मती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा तेक्वान्दो क्विन संगिनालाई बागमतीको शान अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

नेपाली खेलकुदको लागि नसोचिएको बाटो खोल्ने मार्गदर्शक हुन्, संगिना। जब ओलम्पिकमा नेपालको उपस्थिति वाइल्ड कार्डको भरमा सिमित थियो। तब संगिनाले त्यो परिपाटी तोडिन्।

बैंककमा सम्पन्न एसिया र ओसियाना क्षेत्रीय छनोट प्रतियोगितामा जित निकाल्दै उनी सन्‌ २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनिन्। त्यो क्षण नेपाली खेलकुदको इतिहासमा कोरिएको स्वर्ण अक्षर हो।

तेक्वान्दोमा उनको प्रभुत्व भनेजस्तै अद्वितीय रह्यो। हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कास्य जितिन्। तेक्वान्दोको एसियन च्याम्पियन पनि बनेकी संगिना दक्षिण एसियाली खेलकुद (साग) मा आठौं र नवौं संस्करणमा स्वर्ण र दशौंमा कास्य जित्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा सानका साथ फहराइन्।

संगिनाको अर्को विशेषता हो, फ्लाइ वेट। उनले करिअरभरि फ्लाइ वेट क्याटेगोरीमै प्रतिस्पर्धा गरिन्। तेक्वान्दो जस्तो खेलमा यो स्थिरता दुर्लभ मानिन्छ।

खेल जीवनपछि पनि उनी तेक्वान्दोबाट टाढा रहिनन्। प्रशिक्षकको रूपमा देशलाई पदक उिलाउने भुमिकामा रहिन्। १३औं सागमा नेपालले जितेको १२ स्वर्ण, ६ रजत र ११ कास्य पदकको ऐतिहासिक सफलतामा उनी एक प्रेरणादायी प्रशिक्षकको रूपमा अग्रपंक्तिमा थिइन्।

उनी एउटा पुस्ताको मात्र होइनन्, आउने पुस्ताहरूका लागि पनि प्रेरणाको स्रोत रहिरहनेछिन्। उनै संगिना बागमतीकी शानको अवार्डको पक्का हकदार पनि हुन्। नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवन बाट सन्न्यास लिएकी थिइन्।

अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।