५ जेठ (Sports for Nepal) — बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्।
बाग्मती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा पलेशालाई पारा वर्ष खेलाडी अवार्ड प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। उनको बुवा प्रदीप गोवर्धनले अवार्ड ग्रहण गरे।
पलेशा ऐतिहासिक पारा ओलम्पिक्स पदक विजेता खेलाडी हुन्। विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो। उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन्।
उनको अदम्य साहश र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी मात्र बनेन। देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो।
नेपालको खेलकुदको इतिहासमा सर्वाधिक सफल खेलाडी पलेशाले पेरिस पारालिम्पिक्समा के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह कास्य जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचिन्।
पलेशाले जितेको कास्य नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठुलो पदक हो। यसअघि जापान पारा ओलम्पिकमा उनले दुई बाउट जितेकी थिइन्।
उनको सफलता र मेडलको फेहरिस्त लामै छ। चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाइन। एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो।
यीनै पदक र रेकर्डकी धनी पलेशा उत्कृष्ट पारा खेलाडीको अवार्डबसट सम्मानित भएकी हुन्। अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको थियो।

