१४ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपरकिंग्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ।
बिहीबार राति दुबईमा सकिएको खेलमा पराजय भोगेसँगै कोलकताको प्लेअफ यात्रा कठिन बनेको छ।
कोलकताले जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
चेन्नईका लागि रवीन्द्र जडेजाले नटआउट ३१ रन र साम कुरानले नटआउट १३ रन योगदान गरे ।
बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।
त्यसअघि पहिले दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए ।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले २ विकेट लिए।
पराजय भोगेको कोलकता १३ खेलबाट १२ अंक जोड्दै पाँचौ स्थानमा छ। एक खेल कम खेलेको पञ्जाव समान अंकसहित चौथो स्थानमा छ।
जितपछि पुछारमा रहेको चेन्नईले १३ खेलबाट १० अंक जोडेको छ।
आइपिएलमा शुक्रबार पञ्जाव र राजस्थानबीच खेल हुनेछ।