२५ कात्तिक, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १३औं संस्करणको उपाधिका लागि मङ्गलबार बेलुका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
दुबईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर सोझै फाइनलमा पुगेको हो भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्लीले दोस्रो क्वालिफायरमा हैदराबादलाई पराजित गर्दै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको थियो ।
लिग चरणका दुवै भेटमा पनि दिल्लीलाई हराएको साविक विजेता मुम्बई पाँचौंपटक आइपिएलको उपाधि जित्न चाहन्छ भने पहिलोपटक फाइनलमा पुगेको दिल्लीले आफ्नो पहिलो उपाधि जित्न चाहन्छ । हालसम्मको प्रदर्शनअनुसार मुम्बई प्रतियोगिताकै सबैभन्दा बलियो टोली देखिएको छ ।
दिल्ली आज बेलुका मुम्बईलाई हराएर इतिहास रच्न चाहन्छ तर बलियो देखिएको मुम्बईलाई हराउन त्यति सजिलो भने हुने छैन ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध रहेको दिल्लीले यस सिजनका कुनै पनि खेलमा सन्दीपलाई मौका दिएको छैन । पछिल्लो खेल जितेको दिल्लीले फाइनलमा कुनै पनि परिवर्तन नगरी उत्रने सम्भावना रहेको छ । त्यसकारण सन्दीप यस खेलमा पनि बेन्चमै रहने लगभग निश्चित छ ।

