२० कात्तिक ,काठमाडौं – आगामी शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिएका छन् । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरु विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाउने संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन्’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न हौसला दिएको छ ।’
च्याम्पियनसिपमा भारत, श्रीलंका, हङकङ, मलेसिया, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, म्यानमार, मकाउ, सुरिनेम, जापान,टिमोर, बेलायत दक्षिण कोरिया, नाइजेरिया, बंगलादेश, फिलिपिन्स र कम्बोडिया लगायत १९ देशका खेलाडीले सहभागिता सुनिश्चित गरेको प्रचारप्रसार संयोजक कविराज नेगी लामाले जानकारी दिए।
सीतापाइला तेक्वान्दो डोजाङ, युनाइटेड तेक्वान्दो डोजाङ, पिङ्ला तेक्वान्दो डोजाङ र सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङको संयुक्त पहलमा आयोजना हुन लागेको च्याम्पियनसिपमा सहभागिताका लागि रजिस्ट्रेसन गरेका खेलाडीले शुक्रबारसम्म दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ। प्राप्त भिडियोको शनिबार र आइतबार अन्तर्राष्ट्रिय रेफ्रीले मूल्यांकन गर्ने छन् भने सोमबार विजेता खेलाडीको नतिजा सार्वजनिक गरिने भएको छ।
च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै विधा तोकिएको छ ।
प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन्।
त्यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । संयोजक घिसिङका अनुसार च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितहरुको उपचारका लागि खर्च गरिने भएको छ ।
च्याम्पियनसिपलाई सफल रुपमा सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडीहरुले पनि सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो, प्रदीप व्यञ्जनकार लगायतले सहयोग गरेको र अन्य तेक्वान्दोकर्मीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।