२१ कात्तिक, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२० मा दिल्लीमाथि प्रभावशाली जीत हासिल गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्यो ।
यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।
मुम्बईका इशान किशनले अविजित ५५ रन बनाए भने सुर्यकुमार यादवले ५१ तथा ओपनर क्विन्टन डिककले ४० रन बनाए । हार्दिक पान्ड्याले पनि अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै ३७ रनमा अविजित रहे । दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा एनरिच नोर्त्जे र मार्कस स्टोइनिसले १-१ विकेट हात पारे ।
जीतसँगै मुम्बई सिधै फाइनलमा प्रवेश गरेको छ भने पराजित दिल्लीका लागि फाइनलमा पुग्ने अझै एक मौका रहेको छ । शुक्रबार हुने इलिमिनेटर खेलको विजेतासँग दिल्लीले प्रतिस्पर्धा गर्ने छ जसमा विजयी हुने टोली फाइनलमा पुग्ने छ ।
इलिमिनेटरमा बेलुका सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै छन् । यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।