२२ कात्तिक, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ ।
दोस्रो क्वालिफायरका लागि स्थान पक्का गर्ने क्रममा उसले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्यो ।
बैंगलोरले दिएको १३२ रनको मध्यम लक्ष्य हैदराबादले ३ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । हैदराबादका केन विलियमसनले अविजित ५० रन बनाए भने जेसन होल्डरले अविजित २४ रन बनाए । मध्यम लक्ष्य पछ्याउने क्रममा इनिङको मध्यतिर हैदराबादले नियमित अन्तरालमा विकेट गुमाएपछि खेल रोमाञ्चक भएको थियो र अन्तिम ओभरसम्मै पुगेको थियो ।
विलियमसन र होल्डरले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाए । मनिष पाण्डेले २४ तथा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बैंगलोरका मोहम्मद सिराजले २ तथा युजभेन्द्र चहल र एडम जाम्पाले १-१ विकेट हात पारे ।
यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले ५६ र एरन फिन्चले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । हैदराबादका जेसन होल्डरले ३, टि नटराजनले २ तथा शाहबाज नदीमले १ विकेट लिएका थिए ।
जीतसँगै हैदराबादले दोस्रो क्वालिफायरमा दिल्लीसँगको भेट पक्का गरेको छ भने बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ ।
आइपीएल : बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावाद दोस्रो क्वालिफायरमा

