काठमाडौं । यूएईमा सम्पन्न १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।
मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो । मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए । त्यसैगरी इशान किशनले अविजित ३३ र क्विन्टन डिककले २० रन बनाए । सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको मुम्बईले अन्त्यतिर केही विकेट गुमाएको थियो । दिल्लीका एनरिच नोर्त्जेले २ तथा मार्कस स्टोइनिस र कगिसो रबाडाले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । कप्तान श्रेयस अय्यर ६५ रनमा अविजित रहँदा रिषभ पन्तले ५६ रनको योगदान दिए । मुम्बईका ट्रेन्ट बोल्टले ३ नेथन कुल्टरनाइलले २ र जयन्त यादवले १ विकेट लिए ।उपाधि रक्षा गरेसँगै मुम्बईले ट्रफीसहित नगद २० करोड भारु जितेको छ भने उपविजेतामा सीमित दिल्लीले १२ करोड ५० लाख प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी किङ्स इलाभेन पञ्जाबका केएल राहुल बनेका छन् । उनले १४ खेलमा ६७० रन बनाएका थिए । यद्यपि उनको टोली लिग चरणबाटै बाहिरिएको थियो ।
३० विकेट लिएका कगिसो रबाडा सर्वाधिक विकेट लिने बलर बनेका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजस्थानका जोफ्रा आर्चर घोषित भएका छन् भने उत्कृष्ट युवा खेलाडी बैंगलोरका देवदत्त पडिक्कल घोषित भएका छन्
मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह विकेटविहिन बने । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
अहिलेसम्मका विजेताहरु
२०२० : मुम्बई इन्डियन्स
२०१९ : मुम्बई इन्डियन्स
२०१८ : चेन्नाई सुपर किंग्स
२०१७ : मुम्बई इन्डियन्स
२०१६ : सनराइजर्स हैदरावाद
२०१५ : मुम्बई इन्डियन्स
२०१४ : कोलकता नाइट राइडर्स
२०१३ : मुम्बई इन्डियन्स
२०१२ : कोलकता नाइट राइडर्स
२०११ : चेन्नाई सुपर किंग्स
२०१० : चेन्नाई सुपर किंग्स
२००९ : डेक्कन चार्जर्स
२००८ : राजस्थान रोएल्स