काठमाडौं, मंसिर ४ : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ ।
लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।
क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यस्तै क्यानको २०७०७१ देखि २०७५७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ ।
क्यानले २०७६७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।
आव २०७७७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।
पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ।