प्रधानमन्त्री कप: गण्डकीमाथि बाग्मतीको सहज जित


दाङ, १५ पुस — दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश माथी  बाग्मती प्रदेशले जित हसिल गरेको छ।

बुधबार भएको दोस्रो खेलमा बाग्मतीले पहिलो जित हासिल गर्ने क्रममा गण्डकीलाई ६५ रनले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ८८ रन जोड्यो। बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५३ रन जोडेको थियो।

गण्डकीका लागि श्रृष्टि पौडेलले सर्वाधिक ३० रनको योगदान गरिन । त्यस्तै कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गर्न सफल भइन।

बलिङतर्फ बाग्मतीका लागि कप्तान अस्मिना कर्माचार्य, आराती बिडारी, सुमन खतिवडा र निशा तामाङले समान १-१ विकेट लिए।

बाग्मतीकी ओपनर ब्याटरद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए। कन्चनले २७ रन जोड्दा सुमन खतिवडाले १ रन बनाइन्। त्यस्तै विन्दाले ३८ रनको योगदान गर्दा आरती विडारीले १० रनमा अविजित रहदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडिन्।

बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिइन्।

जितसँगै समूह 'बी'मा रहेको बाग्मतीले २ खेलबाट २ अंक जोडेको छ।

लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ। लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ।