प्रधानमन्त्री कप: प्रदेश १ को रोमाञ्चक जित, एपीएफलाई हराउँदै उपाधि जित्न सफल


१९ पुस, दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जित्न सफल भएको छ। आइतबार सम्पन्न भएको फाइनलमा विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि जितेको हो ।

प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९९ रन मात्र बनाउन सक्यो । ममता चौधरीले एपीएफका लागि सर्वाधिक ३४ रनको योगदान गरेकी थिइन । त्यस्तै करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रन लिदा अन्य खेलाडीले उल्लेख्य खेल्न गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन बाध्य भयो ।

बलिङतर्फ प्रदेश १ का लागि अलिशा खडिया र कप्तान रुविना क्षेत्रीले समान २-२ विकेट लिदा संगिता राईले १ विकेट लिइन् ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर खेल्दै मात्र ४ विकेटको क्षेतिमा १०५ रन बनाएको थियो ।

ओपनर ब्याटरद्वय कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले सानदार सुरुवात गर्दै ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । १२ ।४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन ।

त्यस लगतै अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् । काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन । यस्तै रोमा थापाले ३ रन, निशा शाहले ५ रन बनाउँदा संगिता राई २ रनमा अविजित रहिन् ।

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

यो उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप- विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।