एपिएफको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात


३ माघ कीर्तिपुर  – विकेटकिपर आशिफ शेखले अर्धसतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह-एमा रहेको एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गर्न सफल भएको हो। टस हारेर ब्याटिङ गरेको एपीएफका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेको इनिङ्समा एपीएफले ४८ ।४ ओभर खेल्दै सबै विकेट गुमाएर २४३ रन बनायो ।  आसिफले ३२ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ५९ रन बनाए ।

शरद भेषावकरको कप्तानीमा उत्रिएको एपीएफको लागि बसन्त रेग्मीले पनि ४० रनको इनिङ्स खेले । ५२ बल खेलेका उनले ४ चौका र २ छक्का हालेका थिए । सन्दिप जोराले ३० र कप्तान भेषावकरले २० रन जोडे ।

ओपनर सुबास खकुरेल र किशोर महतोले समान १९ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४२ ।२ ओभर खेल्दै १०८ रन मात्र बनाउन सक्यो ।

प्रदेश १ लाई अलआउट गर्न एपीएफका अभिनाश बोहराले सर्वाधिक ५ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले २ विकेट लिए ।

प्रदेश १ को लागि ओपनर मिनास थापाले सर्वाधिक १८ रन बनाए भने दिपेश कँडेलले १६ रन जोडे ।

अभिनाशले १० ओभर बलिङ गर्दा ६ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ५ विकेट लिए । उनले ३ चौका दिए भने ५३ बल डट राखे ।

यस्तै बसन्तले १० ओभरमा ३ ओभर मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । उनले एक छक्का दिँदा ५२ बल डट फाले ।

यस्तै कप्तान शरद भेषावकर र किशोर महतोले १-१ विकेट लिए । प्रदेश १ का एक खेलाडी रनआउट भए ।

बलिङमा प्रदेश १ का लागि फिर्दोस अन्सारी, दिपेश कँडेल, श्रवण यादव र हेमन्त राईले २-२ विकेट लिए । 

तस्वीर : सेतोपाटी