१७ माघ, काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा नेपाल आर्मीले एपीएफ क्लबलाई ३४ रनले हराउदै उपाधि जितेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ११ रन बनाउन सफल भयो। आर्मीले आजको खेलमा अनिल मण्डल र वलर सुशन भारीलाई ओपनिङ खेलाएको थियो ।
पहिलो विकेटका लागि ओपनिङ साझेदारी ३२ रनको भएको थियो। ८.६ ओभरमा ३२ रन भएका बेला भारी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किना बाध्य भए। किशोर महतोले विकेटकिपर सुवास खकुरेलमार्फत भारीलाई आउट गराएका थिए । भारीले ३४ बल फेस गर्दा एक चौका प्रहार गरेका थिए ।
सोही स्कोरमा १ ओभरमा अनिल मण्डल पनि आउट हुन पुगे । अनिलले २१ बल फेस गर्दा एक चौकाको मद्दतले ११ रन बनाए । अनिललाई अविनास बोहोराको बलिङमा आशिफ शेखले क्याच आउट गरेका थिए ।
आर्मीले तेस्रो विकेट ४७ रन भएका बेला गुमाउन परेको थियो। आर्मीका भीम सार्की व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे । उनले ३६ बल फेस गर्दा एक चौका प्रहार गरे । भीमलाई अविनाशको बलिङमा विकेटकिपर सुवासले पभेलियन पठाएका हुन। टिमको स्कोर ८८ रन हुँदा आर्मीले चौथो विकेटको रुपमा रोहित पौडेललाई गुमायो ।
रोहित ३० बलमा एक छक्का सहित १३ रन बनाउँदै आउट भएका थिए । विनोद भण्डारी र हरि चौहानले टिमको स्कोर १०० कटाएका थिए । विनोद व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे । चौहानलाई साथ दिन राजेश पुलामी क्रिजमा आएका थिए । हरि चौहानले ८९ बलमा अर्धशतक पुरा गरे । उनले ५८ रनको योगदान गर्न सफल भए।
पहिलो विकेट पतन भएपछि क्रिजमा आएका चौहानले अर्धशतक बनाउँदा चार चौका प्रहार गरे । टिमको स्कोर १६७ रन भएका बेला लोकेश बम आउट हुन पुगेका थिए । लोकेसले ९ बलमा १५ रन बनाउँदा दुई छक्का प्रहार गरेका थिए । अन्तिममा साहब आलमले २५ रनको योगदान गर्दा आर्मीले सम्मानजनक स्कोर खडा गर्न सफल भयो। बलिङमा अभिनाश बोहोराले सर्बाधिक चार तथा किशोर महतोले दुई विकेट लिएका थिए।
जवाफमा एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा अलआउट हुना पुग्यो। एक समय बलियो देखिएको एपीएफले अन्तिममा लगातार विकेट गुमाउँदा हार ब्यहोर्न बाध्य भयो।
एक सय ४१ रन हुँदासम्म मात्र पाँच विकेट गुमाएको एपीएफले त्यसपछि अरु ३७ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। २१ रनमा पहिलो विकेट गुमाएको एपीएफले लगत्तै अर्को विकेट पनि गुमाउन पुग्यो । तर दोस्रो विकेटका लागि आशिफ शेख र शंकर रानाले ७१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए। तर शंकर २१ रनमा आउट भएपछि एपीएफले तेस्रो विकेट गुमायो ।
त्यसपछि एपीएफका अरु खेलाडीविच दरिलो साझेदारी हुन सकेन। उसका लागि सुवास खकुरेलले १४ रन बनाए भने सुमित महर्जनले १९ रनको योगदान गरे। यस्तै सन्दिप जोराले २९ रन बनाए ।
एपीएफका लागि आसिफले सर्वाधिक ६१ रन बनाए । बलिङमा जितेन्द्र मुखिया, विक्रम सोब र साहब आलमले तीन तीन विकेट लिए ।