प्रशिक्षक पुबुदु दासानायके सधैँ भिजन, प्लानअनुसार अघि बढ्ने मान्छे — पूर्वकप्तान खड्का


२६ मंसिर, काठमाडौं — नेपाललाई सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप सम्म पुर्याउन सफल क्रिकेट प्रशिक्षक पुबुदु दासानायके नेपाली पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा फेरी नियुक्त भएका छन्।शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो। उनि पुनः प्रशिक्षकमा नियुक्त भए पछि पूर्व कप्तान पारस खड्काले एक मिडिया सँग आफ्नो प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विश्वकप छनोट मुखैमा आएका बेला पहिलेदेखि नै नेपाली क्रिकेट जाने बुझेको प्रशिक्षक नियुक्ति गर्नु सकरात्मक पाटो भएको बताउँछन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का द्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

‘विश्वकप छनोटको तयारीमा हामी ढिलो भैसक्यौं। चिनजान गर्ने समय पनि नभएका धेरैजसो खेलाडीको पहिलेदेखि नै उहाँसँग चिनजान छ,’ पारसले भने, ‘नेपाली अवस्थालाई बुझेको भएकाले क्यानले उहाँलाई दोहोर्‍याएको होला। उहाँको प्रशिक्षण क्षमतामा कुनै शंका गर्ने ठाउँ छैन।’

पुबुदु सधैँ भिजन, प्लानअनुसार अघि बढ्ने मान्छे भएको र यसपल्ट पनि नेपाली क्रिकेटलाई अघि बढाउँने भिजन उहाँले लिएर आउने कुरामा कुनै दुबिधा नभएको पारसले बताए।

‘जहाँ गए पनि उहाँले आफूले आफूलाई प्रमाणित गरिसक्नुभएको छ। उहाँ फेरि आउनु भनेको नेपालका लागि आगामी प्रतियोगितामा राम्रो गर्ने अवसर हो,’ पारस भन्छन्,पूर्व क्रिकेटरका नाताले यसपटक पनि राम्रै होला भन्ने आशा छ।’

पूर्वकप्तान पारस खड्का पुबुदुले जहाँ गए पनि टोलीमा परिवर्तन ल्याउनु भएकाले अहिले देखिएका सबै चुनौती पार गर्नेमा विश्वस्त देखिन्छन्।

‘उहाँ प्रमाणित भइसकेको प्रशिक्षक हो। जहाँपनि सकारात्मक परिवर्तन ल्याउनुभएको छ,’ पारस भन्छन्, ‘मैले बारम्बार भन्दै आएको छु, उहाँ जागिर खान मात्रै आउनुहुन्न। उहाँले बनाएको योजनालाई टिमले कसरी कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा हो।