आयशा द्वारा अन्तर्राष्ट्रिय पारा तेक्वान्दो कोच सर्टिफिकेसन कोर्स (लेभल - २) उर्तिण


३१ साउन, काठमाडौं — १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले पारा तेक्वान्दोको लेभल २ प्रशिक्षण कोर्स उर्तिण गरेकी छन् । आयशाले विश्व पारा तेक्वान्दोको आयोजनामा मंगलबार सम्पन्न १८ औं विश्व पारा तेक्वान्दो प्रशिक्षक सर्टिफिकेट कोर्ष लेभलको उर्तिण गरेकी हुन् ।

प्रशिक्षण तीन दिन सम्म अनलाइन माध्यबाट भएको थियो । पारा तेक्वान्दोको लेभल–२ कोर्स पूरा गर्ने आयशा दोस्रो नेपाली तथा पहिलो नेपाली महिला प्रशिक्षक हुन् । यसअघि गत वर्ष कविराज नेगी लामाले उक्त कोर्ष उर्तिण गरेका थिए । त्यसअघि लामा, आयशा र विकेश बिडारीले लेभल–१ कोर्ष उर्तिण गरेका थिए ।

लेभल–२ कोर्समा सहभागी हुन विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तीमा एक वर्षको अनुभव र विश्व तेक्वान्दोले आयोजना गरेको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको हुनुपर्ने छ । 

लेभल २ उर्तिण प्रशिक्षकले एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताको टोलीलाई प्रशिक्षण दिन सक्नेछन् । लेभल २ कोर्षका लागि मौका दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिदै आयशाले पारा तेक्वान्दोको खेलाडी उत्पादन र प्रशिक्षणका लागि अब जति बेला पनि उपलब्ध रहने समेत बताइन् ।

झण्डै तीन वर्षअघि स्वदेशमा भएको १३ औं सागको तेक्वान्दोको पुम्सेमा आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन् । सागमा त्यसअघि नै उनले एक स्वर्ण र एक रजत पदक जितेकी थिइन् । उनले सन् २००६ को एसियाली खेलकुदमा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।