रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त


२५ कार्तिक, काठमाण्डौ — रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन । नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो ।

पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन । क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो ।

रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । त्यसअघि क्यानले रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको थियो ।

रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हालिसकेका छन ।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीसमेत हुन । गत चैतमा सम्पन्न पपुवा न्यु गिनीविरुद्धको एकदिवसीय शृंखलामा रोहितले पारस खड्काको रेकर्ड तोडेका थिए । रोहित १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रन बनाएर आउट भएका थिए ।

रोहितले आउँदो सोमवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् । रोहित भरपर्दो ब्याटर हुन । 

२५ एकदिवसीय र २१ टी-२० खेलेका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन। रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।