पिएनजी विरुद्ध नेपाल ९ विकेटले विजयी


फागुन २९ काठमाडौँ — आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाल नौ विकेटले विजयी भएको छ।   यो जितसंगै नेपालले ३५ खेलबाट ३८ अंक बनाएको छ। तेश्रो स्थानमा रहेको ओमान भन्दा १ अंकले पछि रहेको छ। अव अन्तिम खेलमा यूएईलाई जिते नेपाल ४० अंक सहित तेश्रो हुँदै विश्वकप छनौट खेलमा जानेछ। 

यसअघि जम्मा ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको हो ।  

नेपालका लागि कुसल भूर्तेल  ३३ रन बनाएर आउट भए। नेपालका आशिफ शेखले २१ बलमा ८ चौक्का र ३ छक्कासंगै नटआउट ५३ रन बनाए।  त्यसैगरी कुसल मल्लले नट आउट १२ रनको योगदान दिए। 

नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। उनले १० ओभरमा १ मेडन ओभर फाल्दै २५ रन दिएर पाँच विकेट लिए। सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६-६ विकेट लिएका थिए। सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने नेपाली दोस्रो बलर हुन्। सन्दीपको यो एकदिवसीय करिअरको तेस्रो पटक पाँच विकेट हो।

आज कुसल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट हात पारे। त्यसैगरी सोमपाल कामीले एक विकेट लिए।

नेपालले अव चैत २ गते विहीबार श्रृखलाको अन्तिम खेल युएईसँग खेल्नेछ। यूएईलाई हराए नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ। हार भएमा नेपालले नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन्। आजको खेल सहित नेपालले पछिल्ला ११ मध्य १० खेल जितेको हो ।