नेपालद्वारा दोस्रो ओभरमै मेयर्सको विकेट लिन सफल


काठमाडौं, ७ असार (Sports for Nepal) — नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध दोस्रो ओभरमै ओपनर कायल मयर्सको विकेट लिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले २.३ ओभरमा १ विकेटको क्षतिमा २ रन बनाएको छ । वेस्टइन्डिजका ब्रेन्डन किंग र जोनसन चाल्र्स क्रिजमा छन् ।

तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका छन् ।

नेपालले तेस्रो बलमै ओपनर कायल मेयर्सलाई रन आउट गर्ने अवसर गुमाएको थियो । भीम सार्कीले विकेटकिपर आसिफ शेखलाई दिएको थ्रो केहि सेकेन्ड ढिलो हुँदा उनी रन आउट हुनबाट बचेका थिए ।

नेपाल र वेस्टइन्डिज दुबैले आजको खेलमा प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्टइन्डिजले अमेरिकालाई पहिलो खेलमा ३९ रनले हराएको थियो । वेस्टइन्डिजलाई विश्वकपमा पुग्न यो खेल जित्नुपर्ने दबाब छ ।

नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले खेल्ने यो सवैभन्दा माथिल्लो स्तरको टोली हो । वेस्टइन्डिजले समान दुई पटक टि२० र एकदिवसीय विश्वकप उपाधि जितेको छ । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट विश्व क्रिकेटलाई देखाउन चाहन्छ ।