थाइल्याण्डलाई ४४ रनमा अलआउट गर्दै नेपाल सेमिफाइनलमा प्रवेश


 काठमाडौं, १३ असार (Sports for Nepal) — नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो ।

२ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३ ।२ ओभरमा ४४ रनमा अल आउट भयो । थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए। नेपालको घातक बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए। त्यस्तै अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो। नेपालको जितमा निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए। उनी स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए। उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। स्पिनर जितको बलमा सुर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड आउट भए। सुर्यांशु स्कुप सट खेल्ने धुनमा बोल्ड आउट भएका थिए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे। सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए। आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए। ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए। पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन्। समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन्। समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो। त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।