१८ कार्तिक (Sports for Nepal) — नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
शुक्रबार एक कार्यक्रमका बीच नेपाल पाराओलम्पिक कमिटीकी अध्यक्ष राधा घले र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद तीन लाखसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरे। सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
लामालाई ७५ हजारसहित प्रशंसापत्र तथा श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। पलेशाका बुवा प्रदीप र आमा मनीता पनि सम्मानित भए। त्यसै कार्यक्रममा एभरेस्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान गर्यो। फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरे।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो हो। पलेशाले करियरमा जितेको यो तेस्रो अन्तर्राष्ट्रिय पदक हो।
यसअघि पलेशाले अन्तराष्ट्रिय खेलमा १ स्वर्ण र २ कांस्य जितेकी थिइन्। पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा दुई ‘बाउट’ जितेर इतिहास पनि रचेकी थिइन्। पलेशा ओलम्पिकमा दुई खेल जित्ने एक्ली नेपाली खेलाडी हुन्।
कांस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन्। प्रशिक्षकका रूपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको नवौं पदक हो। अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ।

