भदौ १३, काठमाडौं – नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज बाट प्रथम काठमाडौं भर्चुअल खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता सुरु भएको छ । पुम्से विधामा हुने प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेता खेलाडी सहित १७० जना खेलाडीहरुको सहभागिता रहेको आयोजक संघका कार्यसमिति अध्यक्ष अशोक खड्काले जानकारी दिएका छन् ।
१३ औं सागका स्वर्ण विजेता खेलाडी द्वय सन्जिला तिम्सिना र निता गुरुङको सहभागिता रहेको उक्त प्रतियोगितामा १३ औं सागकै कांस्य विजेता खेलाडिहरु पनि क्रमश अस्मिन राउत, दीपेन्द्र गुरुङ र प्रेमबहादुर आले पनि प्रतियोगितामा सहभागि छन् ।
भदौ १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुने छ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराए ।

प्रदेश संघ, जिल्ला कार्यसमिती लगायत धेरै नेपाली खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा अन्तरास्ट्रिय निर्णायकहरु नोर्बु लामा, हिरा थापा, मीन न्यौपाने, अशोक खड्का र बिक्रम खड्गीले निर्णायकको भुमिका निर्वाह गर्ने छन।
कोरोना भाइरस कोभिड-१९ को विषम परिस्थिति लाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरुले आफ्नो आफ्नो घरमा बसेर अनलाइन मार्फत सहभागीता जनाउने छन।

