काठमाडौं, ४ असोज – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार अबुधाबीस्थित शेख जायद रंगशालामा भएको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै बिजयी सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाउन सफल भएको थियो । मुम्बईले दिएको १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९ ।२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनाउदै जित हासिल गर्यो ।
चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन र फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए।
मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८, सूर्यकुमार यादवले १७ रन बनाउदै आउट हुदा कप्तान रोहित शर्माले २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भएका थिए ।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले सर्वाधिक ३ विकेट लिए। यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २-२ विकेट हात पारे।
महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइले खराब शुरुवात गरेको थियो । शेन वाटसन पहिलो ओभरमै ४ रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले १ रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।
आइपिएलमा दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीचको खेल आइतबार राति हुँदैछ।