आईपीएल : शुभमन नायक बनेपछि कोलकाताद्वारा हैदरावाद पराजित


११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित गरेको  छ ।
अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १ सय ४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो ।
कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी म्यान अफ द म्याच बने । इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।
कोलकाताको सुरुवात भने राम्रो थिएन । ओपनिङमा आएका सुनिल नरेन दोस्रो ओभरमै आउट भए । उनले रनको खाता खोल्नै पाएनन् ।यसैगरी नितिश राणाले १३ बलमा २६ रन बनाए ।
कप्तान दिनेश कार्तिकले पनि कुनै कमाल गर्न सकेनन् । उनले खाता नै खोल्न सकेनन् । उनी राशिद खानको बलमा एलबीडब्लु भए ।
सातौं ओभरमा तेस्रो विकेट गुमाइसकेको कोलकाताको स्कोर ६३ रन थियो । अप्ठ्यारोस्थितिमा देखिएको टिमलाई शुभम गिलले सम्हाले । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए भने कोलकाताले एक सय रनको आँकडा १४ ओभरमा पूरा गरिसकेको थियो ।
पाँचौ नम्बरमा ब्याटिङमा आएका इयान मोर्गन पनि राम्रो लयमा थिए । मोर्गन र गिलले ९२ रनको साझेदारी गर्दै कोलाकातालाई जिताए ।
यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।