आईपीएल: रोयल च्यालेन्जर्सले सुपर ओभर मार्फत मुम्बई इन्डियन्सलाई हरायो


१३ असोज, काठमाडौं – युएइमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा सोमबार पराजित गरेको छ ।

दुबइ अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी हुन पुग्यो। अहिले सम्मको आईपीएल इतिहासमा दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो।

रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स दुवैको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो।

खेलको एक समय मुम्बई हार्लाजस्तो देखिएको थियो । टिमको १५ ओभरमा ४ विकेट गुम्दा ११२ रन थियो। मम्बईलाई जितका लागि ९० रन चाहिएको थियो । इशान किशन ६१ र किरोन पोलार्ड १०  रन बनाएर क्रिजमा टिकीरहेका थिए। यहीँबाट दुवैले खेलमा बदलाव ल्याए। अन्तत ५ ओभरमा ८९ रन बनाएपछि खेल बराबरी भएको थियो।

इशानले ५८ बलमा ९९ रन र पोलार्डले २४ बलमा ६० रन  बनाए। यी दुवैले पाँचौं विकेटका लागि ११९ रनको पार्टनरसिप गरेका थिए।

त्यस पस्चात सुपर ओभरमा मुम्बईले रोयल च्यालेन्जर्सलाई ८ रनको लक्ष्य दिएको थियो। जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य प्राप्त गर्न सफल भए।

जारी आईपीएलमा यस सिजनको यो दोस्रो सुपर ओभर हो। यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो।