आईपीएल : राजस्थानको पहिलो हार


१५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ ।

बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो ।

१ सय ७४ रनको स्कोर रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरभित्र ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो । तीन खेलमा दोस्रो जित हात पारेपछि कोलकाता पुछारको दोस्रो स्थानबाट माथिल्लो दोस्रो स्थानमा उक्लेको छ । राजस्थान तेस्रो स्थानमा झरेको छ ।
राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे । त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर (२१) र राहुल टेवाटिया (१४) मात्र थिए । कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए । यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।