तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्री बन्न सफल


१६ असोज, काठमाडौं – नेपाल तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्री बन्न सफल भएका छन। यो दर्जाको उपलब्धी प्राप्त गर्न वर्ल्ड तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताहरुमा निर्णायक गर्नुका साथै रिफ्रेसर कोर्सहरुमा सहभागी हुन पर्ने प्रावधान रहेको छ। यसका लागि कम्तीमा तीन वर्षको रेफ्री गरेको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्ने छ।

लामो समय देखी अन्तराष्ट्रिय रेफ्री गर्दै आएका लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर कोर्स गर्नुका साथै २०१९ मा अस्ट्रेलियामै सम्पन्न प्रेसिडेन्ट कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

वर्ल्ड तेक्वान्दोले पठाएको उक्त प्रमाण पत्र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई शुक्रबार हस्तान्तरण गरेका छन। लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने पहिलो नेपाली रेफ्री हुन।