१७ असोज, धादिङ – नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङ द्वारा ब्ल्याक बेल्ट प्रथम डान ४५ औँ ब्याच र दोस्रो डान ४८ औँ ब्याचको बेल्ट तथा प्रमाणपत्र वितरण शनिबार सम्पन्न गरेको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिहं तामाङको प्रमुख आतिथ्यता तथा धादिङ तेक्वान्दो संघका प्रमुख प्रशिक्षक रमेशमान तुलाधरको अध्यक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी तामाङले खेलाडीहरुलाई प्रमाण पत्र तथा बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा प्रथम डानका ६ जना र दोस्रो डानका ३ जना खेलाडिहरु दीक्षित भएका हुन ।
दीक्षित हुनेहरुमा प्रथम डान तर्फ रेजिना बुढाथोकी, डोल्मा गुरुङ, दिपेन्द्र ठकुरी, शिवानी घले, सुदिप ठकुरी र दिल बहादुर थापा मगर छन भने दोस्रो डान तर्फ मारियम तामाङ, सरोज घले र श्याम कुमार पोख्रेल रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र भएकाले खेलकुदलाई सबैले व्यत्तित्व बिकाससँगै स्वास्थ्य र राष्ट्रिय गौरवको रुपमा लिनुपर्ने बताए । उनले धादिङ जिल्लामा रहेका राम्रा तथा लुकेर रहेका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए । धादिङमा खेलकुदका गतिविधी कम हुने गरेको तर्फ इङ्कित गर्दै उनले खेलकुदका गतिविधी बढाउन सबै सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाएका थिए।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका सचिव कृष्णलाल श्रेष्ठ, धादिङ तेक्वान्दो संघका सिनियर खेलाडीहरु प्रदिप गिरी र डेनिड वि.क लगाएतको उपस्थिती रहेको थियो ।