इतिहास रचेकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट


५ चैत्र  (Sports for Nepal) — नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा आइतबार छनोट भएकी छिन् । चीनमा भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजी तौल समूहमा स्वर्ण जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् ।

पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई ५–४ ले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउदै फाइनल यात्रा तय गरेकी थिइन् थिइन् । यो उपलब्धी संगै इतिहास रचेकी पलेशा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । संगीना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए ।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेसाले यसअघि चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।