तेक्वान्दोको वरिष्ठ प्रशिक्षक संगीनालाई राष्ट्रिय खेलकुद परिषदबाट उप-निर्देशकको जिम्मेवारी


६ साउन, काठमाडौं — तेक्वान्दोको वरिष्ठ प्रशिक्षक संगीना वैद्य प्रविधि प्रयोग तथा अनुसन्धान बिभागको उप-निर्देशकमा नियुक्त भएकी छन।

वैद्यलाई शुक्रवार तालीम तथा प्रशिक्षक विभागका प्रमुख अर्जुन विकले जिम्मेवारीको पत्र हस्तान्तरण गरेका छन । वैद्यले परिषद्ले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको छ । यस अघि उनि तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक रहँदै आएकी थिइन् ।

संगीना नेपाली खेलकुदमा खेलाडी र प्रशिक्षकको रूपमा सर्बाधिक सफल व्यक्तित्वको रूपमा परिचित छिन्। अन्तराष्ट्रिय तेक्वान्दो खेलमा सफल मानिएकी संगिना घरेलु प्रतियोगिताहरुमा पनि नम्बर एक खेलाडी थिइन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।

वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन। उनले दुई पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रशिक्षकको रूपमा १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो टोलीले सानदार प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्दा उनी पनि प्रशिक्षण टोलीमा समावेश थिइन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण दिएकी संगीनाको प्रशिक्षणमा नेपाल आर्मीले एक दशक भन्दा बढी घरेलु प्रतियोगितामा पकड जमाउन सफल भएको थियो।

नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवन बाट सन्न्यास लिएकी थिइन्।  सन्न्यास पस्चात प्रशिक्षकको रुपमा देशलाई निरन्तर योगदान गर्दै आईरहेकी छिन ।