राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशकको लागी राजनितिक चलखेल सुरु, रोलक्रम अनुसार संगीना


९ भाद्र (Sports for Nepal) काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले यहि भदौ १९ गते अनिवार्य अवकास पाउदै छन् । शर्माको अनिवार्य अवकासको मिति नजिकिदै गर्दा अहिले उक्त पदको निम्ती  राजनितिक चलखेल सुरु भएको खेलकुदमा चर्चा हुन थालेको छ।

नियम अनुसार तालिम तथा प्रशिक्षण विभागको निर्देशक हुन उप- निर्देशक भएर काम गरेको र अन्य कर्मचारी भन्दा सनियर हुनुपर्ने छ। त्यसैले कर्मचारीको वरियता क्रममा शीर्ष स्थानमा रहेकि र हाल उप- निर्देशकको रुपमा कार्यरत रहेकि संगीना वैद्यको नाम निर्देशक पदका लागि अग्रपंतिमा भएता पनि राजनैतिक दबाबमा उनि भन्दा जुनियरलाई उक्त पदमा नियुक्ती गर्नको लागी कोशिस हुदै गरेको चर्चा सुनिएको छ ।

वर्तमान अवस्थामा संगीना वैद्य प्रशिक्षण, योजना तथा अनुगमनमा उप-निर्देशकको रुपमा कार्यरत छिन्। अर्का उप-निर्देशक टार्जन सुब्बाको अवकास भएकोले उक्त पद खालि रहेको छ । हालको अवस्थामा अन्य उप-निर्देशक भन्दा सिनियर भएकोले संगीना निर्देशक बन्नु पर्ने हो ।

यदि ओलम्पियन संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक बने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक महिला निर्देशक समेत पाउने छ । सम्भवतः संगीना राखेपको विभागिय प्रमुख हुने पहिलो महिला समेत बन्ने छिन् ।

नियम अनुसार तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा संगीना बाहेक अन्यलाई नियुक्ति गर्ने राखेपसँग अन्य विकल्प पनि देखिदैन । संगीना हरेक दृष्टिकोणले निर्देशकको लागि उपयुक्त देखिन्छिन्। यस्तो अवस्थामा पनि अहिले उक्त निर्देशक पदका लागि राजनीतिक चलखेल भईरहेको सुनिनमा आएको छ ।

प्राप्त जानकारीका अनुसार काङ्ग्रेसका एक वरिष्ठ नेताले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गलाई फोन गरेर आफ्नो कार्यकर्तालाई उक्त पदमा राख्नको लागि दवाब दिइरहेको बुझिएको छ ।

वर्तमान अवस्थामा सिनियरको हिसाबले नम्बर एकमा पर्ने संगीना नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिक खेलकुद प्रतियोगितामा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि समेत हुन। उनले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा दुई स्वर्ण, सन् १९९६ मा मेलबर्नमा भएको एशियन च्याम्पियनसिपमा स्वर्ण जितेकि थिइन् ।