करोडौ खर्चिएर पुनर्निर्माण गरिएको दशरथ रंगशालाको व्यवस्थापनमा लापरबाही


२० असोज, काठमाडौं । एघार करोड रुपैयाँ भन्दा बढी खर्च गरेर पुनर्निर्माण गरिएको दशरथ रंगशालाको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद् लापरबाही देखिएको छ। कोभिड-१९ को बिषम परिस्थितिका कारण विगत ७ महिनादेखि कुनै गतिविधि नभएको  रंगशालाको प्यारापिटको अवस्था अहिले दयनीय अवस्थामा पुगेको छ।

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन भएको रंगशालाको प्यारापिटमा भाँचिएर अलपत्र रहेका कुर्सीहरु त्यही अवस्थामा छन्। बर्षाको कारण भिआइपी तर्फको प्यारापिटको छानोबाट पानी चुहिँदा कतिपय सिट ब्रिगिएनुका साथै प्यारापिटको रंगरोगन बिगारेको छ।

प्यारापिटमै सागका लागि बनाइएका फ्लेक्स बोर्डहरु अहिले सम्म पनि अलपत्र अवस्थामा छाडिएका छन। रंगशालाको मुख्य गेट नजिक रहेको फोहोरको थ्रुपोको उचित व्यवस्थापन नहुँदा त्यहा झाडी बनेको छ। त्यसैगरी सागमा ल्याइएको सब्स्टिच्युट बेन्चका चियर पनि अलपत्र अवस्थामा रहेका छन।

यसअघि रंगशालाको भिआइपी प्यारापिटको छानोबाट जडान गरिएको एक महिना पूरा नहुँदै पानी चुहिएको थियो। पाँच करोड खर्च भएको प्यारापिट चुहिन थालेपछि राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको डिजाइन परिवर्तन गरेको थियो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थापन गरिरहेको खेल मैदान ठीक अवस्थामा रहेको छ। एन्फाले आगामी हुने भनिएको विश्वकप छनोट प्रतियोगिताका लागि खेल मैदान मर्मत गरिरहेको हो। यद्यपी कोरोना भाइरसका कारण यो वर्ष विश्वकप छनोटका खेल हुने-नहुने निश्चित छैन।