कोरोना भाइरस कोभिड -१९ बाट उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित


काठमाडौं उपत्यकामा एक दिनमा अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा काठमाडौं उपत्यकामा थपिएको अहिलेसम्मकै उच्च संख्या हो । 

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा ११० जना, भक्तपुरमा ८ जना र ललितपुरमा १६ जना संक्रमित थपिएका हुन् ।  

योसँगै उपत्यकामा कोरोना संक्रमितको कूल संख्या १ हजार ३१४ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १ हजार ५८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १ सय ५९ जना संक्रमित छन् ।