सागमा दोहोरो स्वर्ण बिजेता आयशा र मन्डेकाजीसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान


२९ कात्तिक, काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता खेलाडिहरु आयशा शाक्य, मण्डेकाजी श्रेष्ठ, सुवास गुरुङसहित ७ खेलाडी तथा अन्य केही खेलकर्मीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सागमा दोहोरो स्वर्ण जितेका खेलाडिहरु तेक्वान्दोकी आयशा, करातेका मण्डेकाजी,  र गल्फर सुवास सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ ।

पुरस्कृत हुने अन्य खेलाडीमा साईकिलिङ्गकी लक्ष्मी मगर, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, भारोत्तोलनका विकास थापा र शारीरिक सुगठनका समिर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी तेक्वान्दो प्रशिक्षक नविन कुमार श्रेष्ठ र कराते प्रशिक्षक कुशल श्रेष्ठलाई समेत पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यस्तै चिकित्सक डा. ज्ञानेन्द्र विक्रम शाह, जुडोका निर्णायक धर्म कुमार श्रेष्ठ, नेपाल गल्फ संघलाई समेत  पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

यसबाहेक खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई खेलकुद विकास र प्रवर्द्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीहरुको मनोबल उच्च राख्न पुर्‍याएको योगदानको कदरस्वरुप प्रसंशा पत्रद्वारा पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ वटा आवेदनहरुहरु प्राप्त भएको र त्यसलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि बमोजिम ९ सदस्य रहेको समितिबाट मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गर्ने खेल प्रतिभाहरु र खेलसंघलाई नगद सम्मान गर्ने जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन २०७५०) बमोजिम ९ सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्याकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित घोषणा गर्दा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका सागका १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राखेपका विभागिय प्रमुख कुलबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालमात्र खेल क्षेत्रबाट विभूषित भएका थिए।