तेक्वान्दोका राजु नगरकोटीलाई अनलाइन पुम्से च्याम्पियनसीपमा स्वर्ण पदक


अमेरिकाको फ्लोरिडामा गत अगष्ट १ र २ तारिखमा सम्पन्न ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल अनलाइन पुम्से च्याम्पियनसीप’ मा नेपालका तेक्वान्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन् ।


विश्वका बिभिन्न उमेर समुहका खेलाडीहरु बीच गराइएको उक्त पुम्से स्पर्धामा “नेपाल तेक्वादो एसोसियसन”को प्रतिनिधित्व गर्दै खेलेका राजुले ४१ देखि ५० वर्ष उमेर समुहको स्पर्धामा ५ ।७६ अंक सहित जित हासिल गरेका हुन । बिजेता खेलाडी राजुले यसअघि पनि बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् ।

उनी पाचौ डान ब्लाक बेल्ट खेलाडी हुन् । विश्व तेक्वान्दोको मापदण्डको आधारमा रेफ्रीहरुद्वारा अनलाइन लाइभ स्ट्रिमिङ्मा बाट खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो । उक्त प्रतियोगीतामा नेपाल तेक्वान्दो एसोसियसन अन्तर्गतकै अन्य दुई खेलाडीहरु सन्दिपा अम्गाई (२१-३० उमेर समुह) र सन्जिव नेपाली (३१-४० उमेर समुह) ले क्रमश: काश्य र रजत पदक जितेका छन।