नेपाली सेनाका खेलाडी संजीवलाइ राष्ट्रपति द्वारा सुकीर्ति पदक बाट सम्मान


काठमाडौं, ३ असोज – नेपाली सेनामा कार्यरत तेक्वान्दो खेलाडी संजीव कुमार ओझा यस वर्षको संविधान दिवसको अवसरमा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित हुने भएका छन। नेपाल सरकारले संजीवलाइ सुकीर्ति पदक द्वारा विभूषित गर्ने निर्णय गरेको हाे ।

नेपाली सेनामा रहेर देशको सेवा गर्नुका साथै खेलकुद मार्फत नेपाललाई देश-बिदेशमा चिनाउन दिएको योगदानको कदर गर्दै उक्त सम्मान गर्न लागेकाे हाे ।

ओझाले काठमाण्डौमा सम्पन्न १३ औ साउथ एसियन गेम (साग)मा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसैगरी उनले हाल सम्मा बिभिन्न राष्ट्रिय तथा अन्त राष्ट्रिय गरी अठार पदक दिलाएका छन । 

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर  महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ । 

सरकारले विभागीय टिमबाट अन्तराष्ट्रिय पदक जितेका अन्य १४ जनालाई समेत विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । जसमा १३औं सागमा म्याराथनमा स्वर्ण जितेका शसस्त्र प्रहरी बल (एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् । यस्तै, पुलिसका ७ खेलाडी सरकारबाट विभूषित हुने सूचिमा परेका छन् । पुलिसबाट भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र विर बहादर महरा, बक्सिङका भुपेन्द्र थापा, करातेका सुनिता महर्जन, सरु कार्की र महशुश मोक्त्तान नेपाल प्रताप भूषणबाट विभूषित हुने भएका छन् ।

यसैगरी नेपाल आर्मीका पारा क्रिकेटर हिमाल टमाटा परम पौरख भास्करबाट विभूषित हुने भएका छन् भने आर्मी अन्तर्गतनै तेक्वान्दोका, मिनु गूरुङ, संगीता मगर तथा बक्सिङका मिनु गुरुङ र कराँतेका प्रविन मानन्धर सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् । सरकारले यस वर्ष ५ सय ९४ जनलाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।