दुई खेलाडी विश्व पारा तेक्वान्दो खेल्दै


मंसिर १७ काठमाडौँ — साउदी अरेबियाको रियादमा हुने विश्व पारा तेक्वान्दोमा २ खेलाडीले भाग लिने भएका छन् । डिसेम्बर ८ देखि १० सम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले भाग लिनेछन् ।

के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा इन्टरनेसनल लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि र्‍याङकिङ स्पर्धासमेत भएकाले प्रतियोगिता महत्त्वपूर्ण भएको जनाइएको छ । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० र सिर्जना १४ औं स्थानमा छन् । प्रशिक्षक लामाका अुनसार आफ्नो तौल समूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सिधै खेल्न पाउने प्रावधान छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन् । प्रशिक्षक लामाले स्पोर्ट्स फोर नेपाल संग कुरा गर्दै अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए । प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुषमहिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिने छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले शुक्रबार टोलीको बिदाइ गरे । टोली सोमबार रियाद जानेछ ।