एसियाडका लागि तेक्वान्दोका वीर महरा सहित ११ खेलाडी छनोट


काठमाडौं, २ असार (Sports for Nepal) — चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत तेक्वान्दो खेलका लागि १३ औ सागका स्वर्ण पदक बिजेता वीर महरा सहित ११ जना खेलाडी छनोट भएका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कभर्डहलमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट महरा सहित ११ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

छनोटमा क्यारोगीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन् । त्यसैगरी, पुम्सेमा समान एक पुरुष र महिला गरेर दुई खेलाडी छनोट भए ।

पुरुष ५८ के.जी तौल समुहमा नेपाल पुलिसका सुमित बिष्टलाई हराउदै राहुल कुमाल छनोट हुन सफल भए । यस्तै ६३ के.जी तौल समुहमा नेपाल पुलिसकै साहिल सुनारलाई हराउदै कृष्ण आले छनोट भए । ६८ के.जी तौल समुहमा नेपाल आर्मीका सगुन श्रेष्ठलाई हराउदै वीर महरा छनोट हुन सफल भएका छन ।  ८० के.जी तौल समुहमा नेपाल पुलिसका कबी अधिकारीलाई हराउदै अभिषेक बराल छनोट भए । त्यस्तै ८७ के.जी तौल समुहमा एपिएफका निरज देउवालाई हराउदै ज्याकी यादव छनोट भए ।

महिलातर्फ ४९ के जी तौल समुहमा अञ्जली तामाङ, ५३ के जी तौल समुहमा आयुशा लामा, ५७ के जी तौल समुहमा सन्ध्याकुमारी सिंह र ६७ के जी तौल समुहमा इन्द्रा बस्नेत छनोट हुन सफल भएका छन। यस्तै, पुम्सेमा प्रेम लिम्बू र स्वस्तिका तामाङ छनोट भएका छन। छनोट भएका ११ मध्ये सात खेलाडी नेपाल पुलिस क्लब र चार खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् । 

 वीर महरा १३ औ दक्षिण एसियायी खेलकुद (साग) प्रतियोगितामा नेपालको लागि एतिहासिक स्वर्ण पदक जित्न सफल खेलाडी हुन ।