राष्ट्रिय स्पोर्टस फोरम भर्चुअल आइतबार हुने


काठमाडौं :  तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले स्पोर्ट्स फोरम जुमको माध्यमबाट ‘भर्चुअल’ रुपमा हुने जनाएको छ ।

 पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आफ्नो मन्तव्य राख्ने छन्।

नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा । सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७६’ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुती दिनु हुनेछ ।

यस्तै श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन  र्‍युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्नेछन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पनि आफ्नो मन्तब्य राख्ने छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिकको भावना र आन्दोलन अनुसार नेपाली खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई नयाँ घटनाक्रम र अवस्थाबारे सचेतनामुलक जानकारी गराउन यस्तो कार्यक्रम हुँदै आएको छ। यसअघि सन् २०१६ र २०१९ मा पनि दुई संस्करणका फोरम आयोजना भइसकेका छन्।
यस्तै महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीले यस्तो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने योजना रहेको बताएका छन्।
कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यस प्रकारको फोरम कार्यक्रमले नेपाली खेलकुदसँग सम्बन्धित क्षेत्रलाई आफ्नो कार्यक्षमता बढाउन र कार्यक्रमहरू नियमपूर्वक सुचारु रूपले अगाडि बढाउन मदत मिल्ने बताएका छन्।