दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने


पौष ९ काठमाडौँ — दोस्रो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने भएको छ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले  शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ ।

महिलामा १० तौल समूह ४५, ५०, ५५, ६१, ६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ  ।

प्रतियोगितामा कुल २ सय ४० खेलाडीको सहभागिता रहने छ । यस्तै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक गरि ३ सय १० जनाको सहभागिता रहनेछ ।

प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।

प्रतियोगिताको प्रायोजन गोदावरी नगरपालिका रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा जिल्ला प्रमुख डोजो ललितपुरका अध्यक्ष दीपक श्रेष्ठ र गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।