नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा


हाङझाउ, १२ असोज (Sports for Nepal) — १९ अ‍ौं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ।

आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा साहस भण्डारी, दिपेश गुरुङ, सुबिनकुमार प्रजापति र समिर गुरुङले शुक्रबार खेलेका थिए।

नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि त्यसलाई निरन्तर कायम राख्यो । वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएको प्यालेस्टाइनबाट त्यसपछि चुनौति अपेक्षा गरेपनि नेपालले लगातार समय अन्तर बढाएको थियो ।

नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए । जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो । यस समूहबाट तेस्रो र चौथो भएका प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् । अब नेपालले शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले एकपछि अर्काे खेलमा पराजय भोग्दै गर्दा पदकको आशा गरिएको पब्जीले भने लगातार दोस्रो पटक अर्को चरणको यात्रा तय गरेको छ ।

कप्तान सुविन महर्जनले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्दै अघि बढ्न सक्दा खुसी व्यक्त गरे । ‘आज खेल सहज थिएन तर पहिलो चरणबाट अग्रता बनाइरहन सक्यौं । अब अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन्,’ उनले भने ।

अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। पर्सी हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।